लिम्बुवान लाइब्रेरी
लिम्बुवान अध्ययन केन्द्रद्वारा व्यवस्थित र सन्चालित लिम्बुवान लाइब्रेरी लिम्बु, लिम्बुवान क्षेत्र र नेपालका आदिवासी जनजातिहरूसँग सम्बद्ध अध्ययन सामग्री रहने पुस्तकालय हो । यसमा पुस्तक, पत्रपत्रिका तथा ऐतिहासिक दस्तावेजहरू सङ्कलन गरी स्रोत केन्द्रको रुपमा विकास गरिएको हो । लिम्बुवान लाइबे्री विभिन्न क्षेत्रका अध्येता, अनुसन्धाता, विद्यार्थी, पत्रकार, सामाजिक–सांस्कृतिक अभियन्ताहरूको आवश्यकतालाई परिपूर्ति गर्ने परिकल्पनाकासाथ स्थापना गरिएको हो । यी विषयहरूसम्बन्धी प्रकाशित सामग्रीहरू कतिपय नष्ट हुने अवस्थामा रहेका छन् । कति त सहजढङ्गले उपलब्ध नहुने यथार्थतालाई समेत यस लिम्बुवान लाइबे्रीले यथेष्ठ ध्यान दिनेछ ।
सिमित साधन र स्रोतलाई मध्यनजर राख्दै यस पुस्तकालयद्वारा सङ्कलन गरिने सामग्रीहरूमा समाज विज्ञान (Social Sciences) एवम् अन्तरविद्यागत (Interdisciplinary Subjects) विषयहरू रहेका छन् । साथमा भाषा, कला, संस्कृति, साहित्य, सङ्गीत, भूगोल, इतिहास (लिखित/अलिखित), मौखिक परम्परा र पराम्परागत आदिवासी ज्ञान तथा सीप लगायतका विषयहरूमा प्रकाशित सामग्रीहरूलाई उच्च प्राथमिकता दिइनेछ ।
यस पुस्तकालयको स्थापना र व्यवस्थापन सिमित साधन र स्रोत तथा लेखक एवम् प्रकाशकहरूबाट प्राप्त अध्ययन सामग्रीहरू सङ्कलन कार्यबाट शुरु गरिएको हो । हाल, यस पुस्तकालयमा लिम्बु जाति तथा नेपालका आदिवासीहरूसँग सम्बन्धित १,००० सङ्ख्यामा अध्ययन सामग्रीहरू छन् । पुस्तकहरूको सङ्ख्या क्रमशः वृद्धि गर्दै लाने दीर्घकालीन सोच बनाइएको छ ।
यस पुस्तकालयको व्यवस्थापन पूर्णतः अनलाईन क्याटलगिङ्मा आधारित छ । देशका विभिन्न स्थापित पुस्तकालयहरूसँग पनि यो माध्यम मार्फत् स्वतन्त्र अध्येताहरूले पहुँच राख्न सक्नेछन् । लेखकहरूका उपलब्ध इलेक्ट्रोनिक कपिका पुस्तक र लेखहरू पुस्तकालयको इ–लाइब्रेरीमा (E-Library) समेत क्रमशः राख्दै जाने योजना रहेको छ । यस कार्यले अध्येता र अनुसन्धाताहरूलाई ती सामग्रीहरूमा पहंँच सरल बनाउने छ ।
हाल शून्यबाट शुरुभई एक पुस्तकालयको रुपमा लिम्बुवान लाइब्रेरी विकसित हुने क्रममा छ । यस क्रममा लिम्बुवान लाइब्रेरीको स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराउनु हुने सिङ्गापुरमा कार्यरत् पुस्तकालय स्थापनामा इच्छुक महानुभावहरूको पहलमा ‘‘लिम्बुवान पुस्तकालय संस्थापक समूह, सिङ्गापुर २०१७'' निर्माण गरी सो समूह मार्फत् रू.५,००,०००।– (रूपैयाँ पाँच लाख) सहयोग प्राप्त भएको छ । आर्थिक सहयोग उपलब्ध गराउनु हुने सिङ्गापुरमा कार्यरत सहयोगी मित्रहरू, पुस्तक तथा अध्ययन सामग्रीहरू उपलब्ध गराउनु हुने लेखक तथा प्रकाशकहरू, बौद्धिक र प्राविधिक सुझाव र हौसला प्रदान गर्नुहुने महानुभावहरू लगायत समस्त पुस्तकालय व्यवस्थापनका विज्ञहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।
यस लिम्बुवान लाइब्रेरीको व्यवस्थापन र विकासका लागि लेखक एवम् प्रकाशकहरूबाट पुस्तक तथा विद्युतीय कपी उपलब्ध गराएर सहयोग गर्नहुन आग्रह गर्दछौं । र, सम्पूर्णमा निरन्तर सल्लाह, सुझाव र आर्थिक सहयोगको अपेक्षासमेत गर्दछांै ।
लिम्बुवान अध्ययन केन्द्र
ललितपुर चुम्लुङहिम, शोभाहिटी,
ललितपुर -१४, ललितपुर ।